Monday, November 9, 2009

पढ्दै, सिक्दै हिमाञ्चलमा

समुद्री सतहदेखि २२६० मिटरको उचाईमा रहेको एउटा सुन्दर हरियाली गाउँ । माथिपट्टी अग्ला अन्नपूर्ण र धौलागिरी हिमाल तलपट्टी फेवाताल । बिचमा नान्जी गाउँ । त्यहीँ रहेको हिमाञ्चल उच्च माबिले बिद्यार्थीहरुलाई कार्सका अतिरिक्त धेरै प्रयोगात्मक र ब्यावहारिक कुरा सिकाएर बिश्वभर ख्याती कमाएको छ । भौगोलिक बिकटताका दृष्टिले म्याग्दी जिल्लाको सदरमुकाम बेनीबाट झण्डै १ दिनको पैदल हिँडेर पुग्नु पर्ने भएता पनि हिमाञ्चल उच्च माबिले आफ्ना बिद्यार्थीहरुलाई ब्यावहारिक रुपमै आधुनिक सूचना–प्रविधिदेखि लिएर दैनिक काममा आउने जीवनोपयोगी कुराहरु एवं रितिरिवाज, संस्कृति र वातावरण संरक्षणका कुराहरु सम्म सिकाएको छ ।
कक्षा १२ सम्म पढाई हुने यस बिद्यालयमा अहिले ३५० जना बिद्यार्थी छन् भने उनीहरुलाई १८ जना शिक्षक–शिक्षिकाले पढाउँछन् । यहाँ कक्षा ७ सम्म मात्र पढाउने सरकारी अनुमति भएता पनि स्थानिय गाउँलेको सकृयतामा कक्षा १२ सम्म पढाई भएको हो । औपचारिक रुपमा उच्च शिक्षा हासिल गर्न नसक्ने बिद्यार्थीहरु पनि आर्थिक उन्नति गरी सफल जीवनयापन गर्न सकुन् भन्ने उद्देश्यले यस बिद्यालय स्थापना गरिएको हो ।
अन्य बिद्यालयहरुमा पढाई हुने औपचारिक बिषयका अतिरिक्त यहाँका बिद्यार्थीहरुलाई वातावरण सन्तुलन राख्ने कुरा प्रयोग गरेरै जानकारी गराइन्छ । आफ्ना बारीहरुमा उब्जनी बढाउन उनीहरु कुनै बिषाधी एवं रसायनको प्रयोग बिना रुखबाट झरेका पातपतिङर र भेंडा एवं सुंगुरको दिसालाई घरेलु प्रविधि अपनाई मन बनाउन सिकेका छन् । त्यस्तै स्थानिय रुपमा पाइने रुखका बोक्रालाई नेपाली कागज गराउन पनि उनीहरु पेख्त छन् । त्यहाँ जाने पाउनाहरुलाई उनीहरु आफैले तयार पारेका कपी र डायरी मायाँको चिनो स्वरुप दिन्छन् । उनीहरुकै पहल र गाउँलेको सहयोगमा गाउँमा दशौं हजार बिभिन्न रुखका बिरुवा रोपिएका छन् । त्यस भेगमा बिद्युत आपूर्ती हुने एकमात्र माध्यम भनेको सोलार प्रविधि हो । त्यसैले हिमाञ्चल बिद्यालयका बिद्यार्थीहरुलाई बिद्यालयले वाइरिङ गर्ने तालिम पनि दिएको थियो । आफ्ना घरमा केही बिद्युतका समस्या प¥यो भने उनीहरु आफै त्यसको समाधान गर्न सक्ने भएका छन् । उनीहरु झ्यालढोका बनाउने, लुगा सिलाउने, घर बनाउने, कुलकुलेसो सफा गर्ने जस्ता सिप आफूमा बिकास गराउन पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छन् । बिद्यालयले गर्ने हरेक काममा राम्चे गाबिसका गाउँलेहरु सघाउँछन् । अझ बिद्यालयलाई झन् राम्रो बनाउन भनेर धेरै बिदेशीहरुले यहाँ आर्थिक एवं प्राविधिक सहयोग गरिराखेका छन् । विश्वकै उत्कृष्ट संरक्षण क्षेत्र “अन्नपूर्ण संरक्षण क्षेत्र” भित्र यो बिद्यालय पर्ने हुँदा पनि यो धेरै पर्यटकको नजरमा पर्न सफल भएको छ । यहाँ आधुनिक पुस्तकालयको पनि ब्यावस्था छ ।
यहाँको सबैभन्दा चाखलाग्दो कुरा त बिश्वमै नौलो मानिएको “ताररहित इन्टरनेट प्रविधि”हो । यहाँका बिद्यार्थी एवं गाउँलेहरु आफ्नै गाउँमा इन्टरनेट सहितको कम्प्युटर सेवा उपभोग गर्न पाउँदा औधी रमाएका छन् । यस्तो पहल अमेरिकाबाट पढेर आएका त्यहीँका शिक्षक महावीर पुनले गरेका हुन् । यसले सूचना प्रविधिदेखि धेरै पर रही भविष्यमा पनि पुग्ने कम सम्भावना बोकेको राम्चे गाविसका बासिन्दालाई ठूलो गुन लगाएको छ भने बिद्यार्थीहरु पनि सानैदेखि आधुनिक सूचना प्रविधिबाट संसारभरका घटनाबारे सू–सूचित हुने अवसर पाएका छन् । बिदेशमा रहेका आफ्ना आफन्तलाई समेत उनीहरु त्यहीँबाट इमेल पठाउँछन् । इन्टरनेटकै सहयोगमा टेली मेडिसिन प्रयोग गरी पोखरमा रहेका डाक्टरसँग आफ्ना रोग जचाउँछन् । जसले गर्दा उनीहरुलाई पोखरासम्म आउने समय वचत गर्नुका साथै अनावश्यक झन्झटबाट पनि मुक्ति दिएको छ । यस्तो काम गरेकै कारण महावीर पुनलाई यस बर्षको अन्तर्राष्ट्रिय म्यागासासे पुरस्कारले सम्मानित गरेको छ ।
यहाँका बिद्यार्थीहरु सानेदेखि खाना पकाउने एवं घर सजाउने काम गर्न पनि बिद्यालयबाटै सिकेका छन् । आवश्यक सबै सामानहरुको जोहो गरेर बिद्यालयमै पाक कक्षा पनि गुरुहरुले गर्न सिकाउनुहुन्छ । उनीहरु चौरी गाईको दुधलाई छुर्पीजस्ता अन्य धेरै परिकार बनाउन पनि सिकेका छन् । भने बिभिन्न जनावरको क्रस गराएर आर्कै जनावर जन्माउने वैज्ञानिक प्रविधि पनि उनीहरुले सिकेरै जानेका हुन् । धेरै मगर जाती रहेको यस ठाउँमा उनीहरु आफ्ना रितिरिवाज एवं संस्कृति धान्ने नाचगान र चाडपर्वलाई पनि निकै रमाइलो गरी संचालन गर्छन् ।
हिमाञ्चल उच्च माबिको यस्तो प्रेरणादायी अनुभव सबै बिद्यालयले अपनाउन सके कुनै जागीर नपाउँदैमा कोही त्यसै बस्नुपर्ने थिएन । सबैले आफूमा जीवनोपयोगी धेरै सीपहरु बिकास गरेमा ऊ सच्चा अर्थमा सफल एवं सबैको प्यारो बन्न पनि सक्छ ।

Published on Kantipur National Daily (kopila)

No comments:

Post a Comment